बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • तेइस वर्षदेखि तेल पेल्ने ‘मिल’ चलाएर जीविकोपार्जन
अर्थ/वाणिज्य

तेइस वर्षदेखि तेल पेल्ने ‘मिल’ चलाएर जीविकोपार्जन

– पेमा लामा

तुलसीपुर, १० असोज । चौरीदेउराली गाउँपालिका–४ खारेखोलाका शारदा पौडेल बिहान ६ः०० बजे हिँडेर पनि तोरी पेल्ने पालो नपाएपछि राति बास बसेर तोरी पेल्नुभयो । सोही गाउँपालिका–४ छेडामा स्थानीय बासिन्दा कान्छाराम लामाले सञ्चालन गरेको मिलमा तोरी पेल्न उहाँलगायतका सोही टोलका छिमेकीहरु पनि सँगै थिए ।

गाउँमा मिल नै नहुने र भए पनि राम्रोसँग पेलेर नदिने गरेका कारण पनि गाउँका मानिस सबैजसो त्यही आउने गरेका छन् । “गाउँमा अरु नजिक मिल छैन, कि यही आउनुपर्यो, कि त माथि सल्लेसम्म जानुपर्छ”, स्थानीय बासिन्दा पौडेलले भन्नुभयो । दिउँसो मान्छे धेरै आउने गरेका कारण राति आएर तोरी पेल्न मिलमा आएका अर्का स्थानीय काजी तामाङले बताउनुभयो ।

“दिउँसो आउनुपर्यो भनेर फोन गरेको तर पालै छैन भनेर भन्यो, त्यसैले राति बास बस्ने गरेर मिलमा आएको हुँ”, स्थानीय बासिन्दा काजी तामाङले भन्नुभयो । सानेबाङथलीबाट तोरी पेल्न आउनुभएका अर्का तेजबहादुर तामाङले दिउँसो पालो नपाउने गरेका कारण राति नै भारी बोकेर आएको बताउनुभयो । “दिउँसो त घाँस पनि काट्नुपर्यो, भैँसी पनि हेर्नुपर्यो”, उहाँले भन्नुभयो, “हामी गाउँको मान्छे, यसरी नै समय बित्ने गरेको छ ।”

एकपटक पेल्न आएको तोरीको तेलबाट तीन/चार महीना पुर्याउने गरेको उहाँले बताउनुभयो । यहाँका किसान आफूलाई आवश्यक पर्ने तोरी आफँै उत्पादन गर्ने गर्छन् । टाढाटाढाका गाउँदेखि तोरी, धान र मकैलगायतका बस्नु पेल्न भीड नै लाग्ने गरेका कारण मिल सञ्चालक कान्छारामलाई फुर्सद नै मिल्दैन । घण्टौँसम्म हिँडेर लाइनमा पालो कुर्दै बसेकाको भारी हेरेर भने जसरी पेल्ने या पिन्ने उहाँको दैनिकी हो । अहिले दशैँ पनि नजिकिँदै आएका कारण पनि हिजोआज उहाँको फुर्सद नै छैन ।

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–४ का उहाँले विगत २३ वर्षदेखि गाउँमा नै मिल चलाएर कमाएको पैसाले जीविकोपार्जन गर्दै आइरहनुभएको छ । उहाँले तोरी पेल्ने, मकै, धान र मिल एकै ठाउँमा सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले चलाएको मिलमा चार/पाँच घण्टाको बाटो हिँडेर विर्तादेउराली, बाङथली, खहरेखोला, चौरीलगायतका ठाउँबाट हिँडेर आई तोरी, धान र मकै पिध्न आउने गरेका जानकारी दिनुभयो ।

“तोरीका लागि सधैँ आउँदैनन्, कहिलेकाहीँ आउने भए पनि सबैजसो ठाउँका मानिस यही आउने गरेका छन्”, उहाँले भन्नुभयो, “आएका जति सबैको चित्त बुझ्ने गरी सेवा दिने गरेको छु ।” दशैँको समयमा त पालो मिलाएर सेवा दिन नै नसक्ने गरी सेवाग्राही आउने गरेका उहाँले बताउनुभयो । “फाइदाभन्दा पनि आफ्नो जीवन चलेकै छ”, उहाँले भन्नुभयो, “यही पेशाबाट छोरा छोरीलाई पढाउने र घर खर्च चलाइरहेको छु ।”

तोरी पेल्न होस् या धान अथवा कमै पिन्न, एक पाथीको रु २५ लिने गरेको उहाँले बताउनुभयो । अहिले दशैँको सिजन आएका कारणले पनि विशेष गरी तोरी पेल्न आउनेको घुइँचो नै लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । त्यसरी काम गर्दा रातभरिमा छ मुरीसम्म पेल्ने गरेको लामा सुनाउनुहन्छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार