सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • देश विकासको बाधक दलाल पूँजीवादः मुख्यमन्त्री गुरुङ
समाचार

देश विकासको बाधक दलाल पूँजीवादः मुख्यमन्त्री गुरुङ

लमजुङ, ४ असोजः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देश विकासको बाधक दलाल पूँजीवाद भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लमजुङद्वारा आज बेँसीशहर नगरपालिका–८ मा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले विदेशमा उत्पादित सामान नेपालमा ल्याएर बेच्नु र देशभित्रै काम गर्नेगरी विदेशी कम्पनीलाई जिम्मा दिने प्रवृत्ति दलाल पूँजीवाद भएको बताउनुभयो ।

उद्योग, कलकारखाना सञ्चालन, स्वदेशमा उत्पादन, आम्दानी गर्न र रोजगारीको सिर्जना गर्दै गरीबीको अन्त्य गरी आम्दानी नगरेसम्म देशमा पूँजीको विकास नहुने उहाँले बताउनुभयो । सामान्तवादको अन्त्य गर्ने र पूँजीवादी व्यवस्था ल्याउने कुरामा लोकतान्त्रिक पार्टीको सहयोगले नेपालमा नयाँ संविधान बनेसँगै नयाँ युगको शुरुआत भएको मुख्यमन्त्री गुरुङको भनाइ थियो । “रोजागार र उत्पादनशील शक्तिको वृद्धि गर्ने सरकारको लक्ष्य छ”, उहाँले भन्नुभयो ।

प्रशिक्षण कार्यक्रममा नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवम पूर्वमन्त्री हितराज पाण्डले पार्टी र सरकारको सम्बन्धका बारेमा प्रशिक्षण दिँदै जनतासँगको सम्बन्ध प्रगाढ बनाउँदै सरकारको माध्यमद्वारा जनताको सेवा गर्नु अहिलेको मुख्य प्रथामिकता हो भन्नुभयो । केन्द्रीय सदस्य, लमजुङ इन्चार्ज एवम गण्डकी प्रदेशसभामा नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले तीनै तहको सरकारले गरीबी, पछौटेपन, विभेद हटाउँदै अघि बढनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले समाजवादको आधार तय गर्न आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणको खाँचो रहेको बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै