बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • नेपालको संविधान विश्वकै उत्कृष्टः सांसद बस्नेत
राजनीति

नेपालको संविधान विश्वकै उत्कृष्टः सांसद बस्नेत

भक्तपुर, ४ असोजःप्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा मध्यपुरथिमिमा रहेको राधेरोधस्थित भक्ति मन्दिर श्यामाश्यामधाममा राधा–माधव समितिले आज आयोजना गरेको कार्यक्रममा झण्डोत्तोलन गर्दै सांसद बस्नेतले संविधानमा कुनै रङ्ग नभएकाले यसलाई राजनीतिक रङ्ग दिन नहुने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले वर्तमान संविधान नेकपा, नेपाली काङ्ग्रेस, राजपालगायतका कुनै पनि एउटा राजनीतिक दलले भनेजस्तो संविधान नभई आम नेपाली जनताले भनेजस्तो र चाहेजस्तो विश्वकै उत्कृष्ट संविधान बनेको बताउनुभयो । उहाँले मुलुकको समृद्धिका लागि अगाडि बढ्नुको विकल्प नभएको भन्दै लोकतान्त्रिक समाजवादउन्मुख संविधानको निर्माणसँगै लामो समयसम्म रहेको सामन्तवादको समूल नष्ट गर्दै मुलुकलाई नयाँ बाटोमा अघि बढ्ने आधार निर्माण गरेको बताउनुभयो ।

विद्वत समाज नेपालका अध्यक्ष घनेन्द्रपुरुष ढकाललगायतले भक्ति र आध्यात्मिक क्षेत्रबाट पनि समाज परिवर्तन गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने औँल्याउनुभयो । कार्यक्रममा डिभाइन युथ क्लब नेपालका सदस्यले राष्ट्रिय पहिचान झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी संविधान दिवसको दिन हिजो साँझ डिभाइन युथ क्लब नेपालका सदस्यले भक्ति मन्दिर श्यामाश्यामधाम परिसरमा दिपावली गरेका थिए । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै