सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • जुम्ला जिल्लामा घरेलु हिंसाका घटना बढ्दो
समाज

जुम्ला जिल्लामा घरेलु हिंसाका घटना बढ्दो

सिञ्जा, २७ भदौः जुम्ला जिल्लामा आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ भदौसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा बढी घरेलु हिंसा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको दुई वर्ष दुई महीनाको तथ्याङ्कमा १८२ वटा घरलु हिंसाका मुद्दा दर्ता भएको पाइएको हो । यसमा आव २०७४/७५ मा ९६ वटा र आव २०७५/७६ भदौसम्ममा ८६ रहेको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा गत आर्थिक वर्षमा बहुविवाहविरुद्ध १० उजुरी परेको उल्लेख छ ।

दुई वर्ष अवधिमा जुम्लामा बालविवाहका दुई मात्र मुद्दा दर्ता भएका छन् । प्रतिवेदनका अनुसार गत वर्ष पाँचवटा चोरीमा संलग्न समूह पक्राउ गरिएको थियो । पाँचवटा जुवाखालबाट ३१ जनालाई नियन्त्रणमा लिएर रु तीन लाख ५५ हजार ७५५ जफत गरिएको थियो । जबर्जस्ती करणीका १० वटा मुद्दा दर्ता गरेर अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । यसैगरी लागुऔषध नियन्त्रणका पाँच वटा मुद्दा दर्ता गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले अपराध दर घट्दो क्रममा रहेको निष्कर्ष निकालेको छ ।

वार्षिक विवरणको विश्लेषण गर्दा वर्षेनी अपराधको दर घटेको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । पछिल्लो समयमा प्रहरीले सचेतनाका क्रियाकलापमा जोड दिँदै जान थालेपछि अपराधको दर घटेको उहाँले बताउनुभयो । “मान्छे जति नै जानकार बन्यो, उति नै अपराधमा संलग्न कम हुने गर्छ, उहाँले भन्नुभयो, “जनतासँग प्रत्यक्षरूपमा प्रहरी जोडिन थालेपछि अपराधका घटनामा न्यूनीकरण भएको देखिएको छ ।” पहिले प्रहरी देख्ने बित्तिकै जनतामा त्रास सिर्जना हुन्थ्यो, अहिले प्रहरी देख्दा सुरक्षाको अनुभूति गर्न थालिएको छ ।

अपराध गर्दा दण्ड जरिवाना हुने स्पष्ट बुझेका छन् । उहाँले थप्नुभयो, “जनता आफू पनि सचेत छन्, प्रहरीलाई पनि निरन्तर खबरदारी गरेर सतर्क बनाउन थालेका छन् । यो राम्रो पक्ष हो ।” समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रहरी र जनताबीचको सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएको निष्कर्ष निकालिएको छ । सामाजिक अपराधविरुद्धको अभियानअन्तर्गत लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुविवाहका विषयमा माध्यमिक विद्यालयस्तरमा पुगेर कार्यक्रम सञ्चालन गरिएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै