आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • डिजेल नभएपछि थन्किए विद्युत् प्राधिकरणका उपकरण
समाचार

डिजेल नभएपछि थन्किए विद्युत् प्राधिकरणका उपकरण

–मानदत्त रावल

जुम्ला, २६ भदौः जुम्लामा गत कात्तिक महीनादेखि विद्युत् सङ्कट भएपछि नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको डिजेल प्लान्ट त्यसै थन्किएको छ । विद्युत् प्राधिकरणले डिजेल प्लान्ट उपकरण मात्र उपलब्ध गराएको र डिजेल उपलब्ध नगराएपछि उपकरण थन्किएको बताइएको छ ।

जुम्लाको विद्युत् सङ्कटका विषयमा संसद्मा ऊर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना भएपछि साउन २९ मा डिजेल प्लान्ट जुम्ला पुगेको थियो । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले प्रतिनिधिसभाको बैठकमा मन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बेवास्ता गरेको बताउनुभएको थियो । जुम्ला सदरमुकाम खलङ्गा महीनौँदेखि विद्युत्विहीन भएको, तर सम्बन्धित व्यक्तिहरूले फोनसमेत नउठाउने गरेको भन्दै सांसद महतले आलोचना गर्नुभएको थियो ।

सांसद महतले आलोचना गरेपछि प्राधिकरणले जुम्लाका लागि ३०० केभीको डिजेल प्लान्ट पठाएको हो । डिजेल प्लान्टसँग एक जना कर्मचारीको व्यवस्था गरे पनि प्राधिकरणले डिजेल उपलब्ध नगराएकाले उपकरण थन्किएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताउनुभयो ।

“प्राधिकरणले जुम्लाका सांसदको रिस थाम्नका निम्ति मात्रै विद्युत् उकरण दिएको रहेछ”, उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो, “प्राधिकरणले उपलब्ध गराएको डिजेल प्लान्ट हरियो घाँस र पानी हाल्दा पनि चलेन । प्रतिघन्टा ५० लिटर डिजेल खर्च हुन्छ । यो खर्च यहाँबाट जुटाउन सकिएन ।” प्राधिकरणले डिजेल उपलब्ध नगराएपछि मेसिन थन्किएको उहाँको भनाइ छ ।

अहिले सांसद महतले स्थानीय पूर्वाधार कोषबाट रु २४ लाख ६० हजारको लगानीमा डिजेल प्लान्ट मेसिन खरीद गरी बिजुली बालिएको अध्यक्ष बुढ्थापाले बताउनुभयो । ज्याक्सन कम्पनीको दुई सय केभी (१६० किलोवाट) को मेसिनबाट बिजुली बालिएको उहाँको भनाइ छ । डिजेलबाट बिजुली बाल्दा बढी खर्च हुने भएकाले एक दिनमा नौ घन्टा मात्र विद्युत् आपूर्ति गर्न सकिएको अध्यक्ष बुढ्थापाले बताउनुभयो ।

जुम्ला सदरमुकाम बत्तीविहीन भएपछि सरकारी कामकाजदेखि जनतालाई चाडपर्वको बेला अँध्यारो भएको भन्दै सांसद महतको सांसद विकास कोषबाट रु ५० लाख अल्पकालीन बत्ती बाल्नका लागि विनियोजन गरिएको हो ।

तीन दशकअघि निर्माण भएको साना जलविद्युत् आयोजनामा नयाँ मेसिन जडान गर्न गत कात्तिकदेखि विद्युत् आपूर्ति बन्द गरिएको थियो । तर नयाँ मेसिन जडान गर्ने क्रममा ‘बेरिङ’ भाँचिएपछि विद्युत् आपूर्ति सहज हुन सकेको छैन । मेसिन मर्मतका लागि धनगढी पठाएको मेसिन एक–दुई दिनमा जुम्ला पुग्ने र भदौ मसान्तसम्म पानीबाट बिजुली बाल्ने तयारी भइरहेको साना जलविद्युत् उपभोक्ता समिति अध्यक्ष बुढ्थापाले बताउनुभयो ।

नयाँ मेसिन जडानका लागि नेपालस्थित भारतीय दूतावासले सहयोग गरेको थियो । भारतीय कम्पनी पासी शुभकामना जेभीलाई जडानको ठेक्का दिइएको थियो । सो कार्यका लागि भारतीय दूतावासले रु दुई करोड ६३ लाख ७७ हजार र साना जलविद्युत् उपभोक्ता समितिको ४५ लाख २२ हजार ९०० लगानी रहेको छ । नयाँ मेसिनको बेरिङ भाँचिएपछि डिजेल प्लान्ट जडान गरिएको हो । उपभोक्ता समितिले स्थानीय पूर्वाधार कोषको रु २६ लाख ४० हजार खर्च गरेर एक सय ६० किलोवाटको डिजेल प्लान्ट जडान गरिएको हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै