आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • कात्तिकभित्र घर निर्माण शुरु नगर्ने लाभग्राहीलाई अनुदान नदिइने
समाचार

कात्तिकभित्र घर निर्माण शुरु नगर्ने लाभग्राहीलाई अनुदान नदिइने

भक्तपुर, २६ भदौः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माण कार्य शुरु नगरे अनुदान नपाइने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, भक्तपुरले आज यहाँ आयोजना गरेको निजी आवास पुनर्निर्माण कार्यक्रमसम्बन्धी गोष्ठीमा उहाँले कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने लाभग्राहीले अनुदानको रकम नपाउने बताउनुभयो ।

तेस्रो किस्ता आगामी माघ मसान्तसम्म लिई सक्नुपर्ने गरी घर निर्माण शुरु गर्न आग्रह गर्दै उहाँले गाउँगाउँमा रहेका इञ्जिनीयरलाई गाउँ नछाड्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न परीक्षा र अन्य बाहनामा कोही पनि इञ्जिनीयरले गाउँ नछाड्नुस्, काम गर्न मन नलागे बिदा लिनुस्, तर गाउँ नछाड्नु, गाउँ छाड्ने र प्रभावकारी रुपमा काम नगर्ने इञ्जिनीयरलाई अब बिदाइ गरिन्छ ।”

उहाँले वडादेखि नगरपालिकासम्मका प्रमुखलाई दैनिक काममा नजाने इञ्जिनीयरलाई हाजिर नगराउन आग्रह गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधि र इञ्जिनीयरले एकै पटक परिचालन हँुदै आ–आफ्नो क्षेत्रमा कहिलेसम्म पुनर्निर्माणको काम सम्पन्न गराउने भन्नेबारेमा लक्ष्य निर्धारण गर्दै योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले आफैँ धितोजमानी बसेर सहुलितयमा रु तीन लाखसम्मको ऋण दिने भने पनि भूकम्पपीडितले ऋण लिन नसकेको अवस्था र कारण पहिचान गर्न इञ्जिनीयरलाई निर्देशन दिँदै उहाँले जनप्रतिनिधिले यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

नक्कली भूकम्पपीडितले घर बनाएका छन् भने त्यसको पहिचान गरी कानूनीरुपमा पहिलो किस्ता फिर्ता गर्ने र घर बनाउनै नसकेर नबनाएकाको हकमा भने समस्या पहिचान गरेर समाधान खोज्ने उहाँको भनाइ थियो । कार्यक्रममा प्राधिकरण भक्तपुर एकाइका प्रमुख ध्रुब गैडालगायत विभिन्न व्यक्तिले पुनर्निर्माणको पछिल्लो अवस्थाबारेमा आफ्ने प्रस्तुतीकरण राख्नुभएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै