शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • लामो समयदेखि अर्बुद्ध रोगबाट पीडित आलेलाई कतारबाट यती धेरै सहयोग
स्वास्थ्य

लामो समयदेखि अर्बुद्ध रोगबाट पीडित आलेलाई कतारबाट यती धेरै सहयोग

दमौली, २६ भदौः वैदेशिक रोजगारीमा कतार पुगेका तनहुँवासीको संस्था रिसिङ प्रवासी युवा समाज दोहा कतारले अर्बुद्ध रोगबाट पीडित व्यास नगरपालिका–१ भादगाउँ निवासी दिलप्रसाद आलेलाई रु एक लाख ६०० आर्थिक सहयोग गरेको छ । लामो समयदेखि अर्बुद्ध रोगबाट पीडित भई उपचार गराइरहनुभएका आलेलाई सहयोग गर्न समाजले कतारमा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सोही अभियानबाट सङ्कलित उक्त रकम समाजका अध्यक्ष टीकाराम आलेमार्फत संस्थापक अध्यक्ष कविराज श्रेष्ठले पीडित आलेलाई हस्तान्तरण गर्नुभएको छ ।

सामाजिक काम गर्ने उद्देश्यसहित गठन भएको संस्थामार्फत जिल्लावासीलाई सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष आलेको भनाइ छ । “समाजले दुःखमा परेका र बिरामी भई उपचाररत रहेका अन्य व्यक्तिलाई पनि सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो, “कतारमै दुःख परेका नेपालीलाई समेत सहयोग गर्ने काम समाजले गरेको छ ।” यसैगरी भीमाद नगरपालिका–९ मोहोरिया निवासी अर्बुद्ध रोगपीडित विष्णुमाया थापाको उपचारार्थ सहयोग गर्ने उद्देश्यले कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

रोजगारीको क्रममा कतारमा कार्यरत भीमाद नगरपालिका–९ सखेपका कमल गुरुङ, पाथर्दीका अर्जुन थापा, गणेशपुरका श्रीराम शाही, लोकेन्द्र शाहीलगायतको पहलमा त्यहाँका नेपालीबाट सङ्कलित रु ४६ हजार पीडितलाई प्रदान गरिएको छ । उक्त रकम भीमाद नगरपालिका–९ का कार्यवाहक अध्यक्ष बाबुराम रानाको रोहवरमा पीडितका श्रीमान् झमकलाल थापालाई प्रदान गरिएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार