मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • महिलाको हत्या भएको आफन्तको दाबी, शव नबुझ्ने अडान
समाज

महिलाको हत्या भएको आफन्तको दाबी, शव नबुझ्ने अडान

सोलुखुम्बु, २३ भदौः धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्दै एक महिलाको परिवारले शव नबुझ्ने अडान लिएको छ । हत्यारा पत्ता नलागेसम्म शव जिम्मा नलिने ती महिलाको परिवारले अडान लिएको हो । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका– ५ शेर्गाखोपमा ४७ वर्षीया मुगामाया घतानी दुवै हातको नाडीमा करीब दुई इञ्च काटिएको अवस्थामा मृत भेटिएको थियो । मृतक घतानी शनिबार साँझ मूल घरमा सासूससुरासँगै खाजा खाएर आफ्नै घर गएको ससुरा रत्नबहादुर घतानीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार बिहान ११ बजेसम्म बुहारीको चहलपहल नभएपछि सासूले छिमेकीसहित घरमा गएर हेर्दा ढोकामा ताल्चा लगाएको तर भित्र खाटमा सिरक ओडेर घोप्टो परेको बुहारीलाई मृत अवस्थामा भेटिएको थियो । प्रत्यक्षदर्शीका अनुसार त्यहाँ रगतको भल बगेको थियो । उनीहरुले घटनाका बारेमा तत्काल प्रहरीलाई खबर गरेका थिए । सदरमुकाम नजिकै भएकाले सोही समयमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले जानकारी दिनुभयो ।

मृतक घतानीले प्रयोग गरेको साम्सुङ मोबाइल र कानमा लगाएको रिङसमेत हराएको छ भने नाकमा लगाएको फुली र गलामा लगाएको तिलहरी साथमै रहेको तर अन्य केही पनि सामग्री फेला नपरेको प्रहरीले जनाएको छ । दुवै हातमा गहिरो चोट भए पनि प्रयोग गरिएको कुनै हतियार नभेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार घटना घटाइएको शङ्का गर्न सकिने भए पनि अनुसन्धानका क्रममा रहेको छ । हातको नशासमेत काटिएपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ । झट्ट हेर्दा चक्कु या ब्लेट प्रयोग गरेको हुनसक्ने भए पनि घटनास्थलमा कुनै सामग्री नभेटिनु र बाहिरबाट ताल्चा लगाउनुले घटना थप रहस्यमय बनेको छ ।

आज बिहान जिल्ला अस्पताल फाप्लुमा शव परीक्षण गरिएको भए पनि परिवारले शव बुझेका छैनन् । मृतकका भाई गोपाल घिमिरेले आफ्नो दिदीको हत्या भएको दाबी गर्दै तत्काल हत्यारा पत्ता लगाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँले हत्यारा पत्ता नलागेसम्म शव जिम्मा नलिने बताउनुभयो । प्रहरीप्रति विश्वास भए पनि घात नहोस् भन्ने हेतुले तत्काल शव नबुझ्ने उहाँको भनाइ छ । मृतक महिलाका श्रीमान् अमर घतानी विगत दुई वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदीमा छन् भने छोरीको विवाह भइसकेको र दुई छोरा काठमाडौमा रहेको आफन्तले बताएका छन् । घरमा मुगामाया एक्लै बस्दै आएकी थिइन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार