शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • जनताको हित नै कम्युनिष्टको धर्म हो – उपप्रधानमन्त्री पोखरेल
राजनीति

जनताको हित नै कम्युनिष्टको धर्म हो – उपप्रधानमन्त्री पोखरेल

– रमेश गिरी

भक्तपुर, २३ भदौः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकता र समर्पण नै विकासको आधार रहेको बताउनु भएको छ । सूर्यविनायक नगरपालिका–४ स्थित पुरातात्विक, धार्मिक तथा ऐतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुल उद्घाटनका क्रममा सोमबार उहाँले नेपाल अनुपम, सभ्यता र संस्कृतिको देश भएकाले यसको पहिचान जोगाउनुपर्नेमा जोड दिनुभएको हो । विकासको नाममा सभ्यता र संस्कृतिको विनाश हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले जनप्रतिनिधि र सरकारी निकायलाई परापूर्वकालदेखिको हाम्रो धरोहरको विनाश हुने गरी काम नगर्न पनि आग्रह गर्नुभयो ।

पुर्खाहरुले बनाएको कुनै पनि चीज कम्युनिष्टहरुले विनाश नगर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “कम्युनिष्टहरु धर्म मान्दैनन् भन्ने कहीँकतै सुन्ने गरिएको छ तर कम्युनिष्टको धर्म भनेको नै जनता हुन् । धर्म जनताको हित गर्ने प्रकारको हुनुपर्छ । जनताको हित नै कम्युनिष्टको धर्म हो । जनता नै देशको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले जनताको भावना र चाहना अनुसारको काम हुनुपर्छ ।” उपप्रधानमन्त्री पोखरेलले सांसद महेश बस्नेतको नेतृत्वमा भइरहेको विकास अभियानले भक्तपुरको विकासले एक–दुई वर्षभित्रमा कायापलट गर्ने लक्षण देखापरेको उल्लेख गर्नुभयो ।

सांसद बस्नेतले भक्तपुर सम्पदाहरुको महत्वपूर्ण स्थल भएको चर्चा गर्दै यहाँबाट उपत्यकाका तीनवटै शहरका साथै २२ वटा हिमशृङ्खला देख्न सकिने भएकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने धारणा व्यक्त गर्नुभयो । पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले सरकारको विकासको कदमलाई सबै पक्षबाट सहयोग हुनुपर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायणप्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल र पूर्वसांसद केदार सञ्जेल लगायतले पुरातात्विक सम्पदाको संरक्षण र संवद्र्धनमा सबैको सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मध्यपुर थिमि राधे राधेस्थित श्यामा श्याम धाम परिसरमा नवनिर्मित डिभाइन युथ क्लब नेपालको प्रधान कार्यालय भवन उद्घाटन गर्नुभएको छ । राधा माधव समिति नेपालको भगिनी संस्थाका रुपमा स्थापना भई निरन्तर रुपमा सामाजिक सेवामा उक्त क्लब क्रियाशील हुँदै आएको छ । स्वामी हरिदासजीले दिनुभएको समन्वयवादी दार्शनिक सिद्धान्तको चर्चा गर्दै उहाँले यहाँ स्थापित युथ क्लबले सामाजिक क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेकाले आगामी दिनमा सामाजिक सेवाका क्षेत्रमा थप उत्प्रेरित भई कार्य बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राधा माधव समिति नेपालका अध्यक्ष सङ्गीता दिदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा न्याय परिषद्का सदस्य पदम वैदिक, विद्वत समाज नेपालका पदाधिकारीले आ–आफ्नो धारणा व्यक्त गर्नुभयो । स्वामी हरिदासबाट २०६९ साल फागुन ४ मा स्थापित उक्त क्लबले विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर, त्रैमासिक रुपमा रक्तदान, सहयोगापेक्षीहरुलाई सेवा एवं सम्मान, नदीनाला, तीर्थस्थल तथा मठमन्दिरको संरक्षण, दैवीप्रकोप पीडितलाई सहयोग र युवावर्गमा आध्यात्मिक चेतनाको विकास गराउँदै आएको उक्त समितिका प्रवक्ता सुरेशप्रकाश आचार्यले जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै