शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • बहाव बढ्दा पुल बग्यो, दर्जनौं घर जोखिममा
समाचार

बहाव बढ्दा पुल बग्यो, दर्जनौं घर जोखिममा

जाजरकोट, १५ भदौः शनिबार वेलुकादेखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका–५ सिर्के, एैरारी, हारेकाप्ला, चारगाउँ जोड्ने पुल बगाएकाले यहाँको बाटो अवरुद्ध भएको छ । गाउँको बीचमा रहेको रहेको सिर्के खोलाको बाढीले काठेपुल बगाउँदा एक गाउँबाट अर्को गाउँमा जान नसकिने भएको छ ।

पुल नहुँदा जुनिबाल संरक्षण माविमा पढ्ने विद्यार्थी आईतबार विद्यालय आउन नसकेको त्यहाँका शिक्षक हरिश बुढाथोकीले जानकारी दिनुभयो । अघिल्लो वर्ष पनि त्यहाँको पुल वगाउँदा समस्या भएको थियो । बाढीका कारण देवीभक्त घर्ती, कमला शाही, जनकबहादुर शाही, रुद्रबहादुर शाही, रामबहादुर घर्ती, अनुरुप बिक, माया खत्री, बिल्खे कामी, चन्द्रबहादुर शाही र महेन्द्र शाहीको घरमा क्षती पुर्याएको छ ।

त्यस्तै जुनीबाल संरक्षण माविको प्रर्खाल भत्किएको र बिल्खे कामीको आरन पुरिएको छ। बाढीले सिर्को ज्यूलामा रोपिएको धान र मकैबालीमा समेत क्षति पुर्याउनाका साथै नलगाड नगरपालिका–८ सीमा गाउँसमेत असर पुर्याएको छ ।बाढीका कारण त्यहाँका १८ घरका परिबार घर छाडेर छिमेकी गाउँमा गएर बसेको पीडित मनबहादुर नेपालीले बताउनुभयो ।

बाढीका कारण आज बिहानै गएको पहिरोले जाजरकोट भेरी नगरपालिका–२ तिमीलेमा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनाप्रति वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले दुःख व्यक्त गर्नुभएको छ । निरन्तर पानीका कारण जाजरकोट–राडी, दल्लीको यातायात सेवा अवरुद्ध भएको छ ।

निरन्तर पानी परिरहेकाले सबैले यात्रा गर्दा, घरमा बस्दा ध्यान दिन, अर्कालाई समस्य पर्दा सघाउन र जोखिम बढेमा सुरक्षा निकायलाई खवर गर्न प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आग्रह गर्नुभएको छ। भेरी नदीमा समेत पानीको वहाव बढेका कारण जोखिम रहेका वस्तीका बासिन्दालाई सचेत रहज आग्रह गरिएको हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै