बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • म्याग्दीको दुर्गम गाउँमा बिजुली बलेपछि फेरियो दैनिकी
समाचार

म्याग्दीको दुर्गम गाउँमा बिजुली बलेपछि फेरियो दैनिकी

म्याग्दी, १३ भदौ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिका–६ बुलमा विद्युत् सुविधा पुगेको छ । गाउँपालिकाको सहयोगमा स्थानीयवासीले श्रमदान र नगद सङ्कलन गरेर गाउँ झिलीमिली बनाएका हुन् । बुल गाउँका ४० घरमा बिहीबार बेलुकीदेखि बिजुली बलेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला लघु जलविद्युत् परियोजनाको विद्युत् बुलमा विस्तार गरिएको हो । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको तत्काल सम्भावना नभएकाले लघु जलविद्युतको बिजुली विस्तार गरिएको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

बुलमा विद्युतीकरणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा रु २५ लाख विनियोजन गरेको थियो । बिजुलीका पोल र तार ढुवानी गर्न रु तीन लाख २० हजार बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुग्जालीले बताउनुभयो । गाउँपालिकाको अनुदानबाट १०४ किलोग्राम तौल भएका ५६ थान विद्युत्का पोल र साढे सात किलोमिटर तार खरीद गरिएको थियो । पोल गाड्ने खाडल खन्न पनि श्रमदान गरिएको थियो ।

स्थानीयवासीबाट नगद सङ्कलन गरेर नन्दीवाङखोला जलविद्युत् परियोजनाको उपभोक्ता समितिलाई विद्युत् खरीदका लागि रु सात लाख ५० हजार बुझाइएको थियो । मल्कवाङको मलम्पारसम्म पुगेको विद्युत्को लाइन विस्तार गरेर बुल पु¥याइएको हो । मल्कवाङमा तीन वर्षअघि निर्माण भएको ४८ किलोवाट क्षमताको नन्दीवाङखोला जलविद्युत् परियोजनाको विद्युत् उपभोग हुन नसकेर खेर गइरहेको थियो ।

बुलका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । विद्युत् अभावमा सूचना प्रविधि, मनोरञ्जन र उद्यम व्यवसायको अवसरबाट वञ्चित थिए । विद्युत् सुविधा भएपछि स्थानीयको दैनिकी सहज भएको छ । विद्युत्बाट चल्ने कुटानीपिसानी मिल सञ्चालन गरिएको छ । गहुँ, मकै, कोदो पिस्नका लागि दुई घण्टा हिँडेर बँेसी पुग्नुपर्ने बाध्यता हटेको स्थानीय लक्ष्मी केसीले बताउनुभयो । बालबालिकालाई उज्यालोमा बसेर पढ्न र स्थानीयलाई घरायसी काम गर्न सहज भएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार