सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • भागेका अभियुक्त १० घण्टा नबित्दै पक्राउ
समाचार

भागेका अभियुक्त १० घण्टा नबित्दै पक्राउ

काठमाडौँः मोटरसाइकल चोरी मुद्दामा रुपन्देहीमा पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ ल्याउने क्रममा थानकोटबाट भागेका दुई अभियुक्तलाई प्रहरीले १० घण्टा नबित्दै आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका रामेछाप लिखु–तामाकोशी गाउँपालिका–१ घर भई काठमाडौँको टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरीद गर्ने भीमबहादुर सुनार आज बिहान ४ः३० बजेको समयमा भागेका थिए ।

सो जानकारी आएलगत्तै खटिएको प्रहरी टोलीले दुवैलाई थानकोट क्षेत्रबाटै अपराह्न १ बजे पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । उनीहरूलाई भदौ ७ गते इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धानका लागि चोरी भएको स्थान महानगरीय प्रहरी वृत्त स्वयम्भू ल्याउने क्रममा उनीहरु बिहान भागेका थिए ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू पठाइएको राठौरले जानकारी दिनुभयो । नेपालीले भदौ ४ गते काठमाडौँ नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट प्रकाश तामाङको नाममा रहेको लु५२प ८५०५ नम्बरको मोटरसाइकल चोरी गरी फरार भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै